परिचय

नेपालको संबिधानको धारा १६३ को उपधारा (१) मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रदेश प्रमुख रहने व्यवस्था बमोजिम सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीबाट नेपालको संबिधानको धारा १६३ को उपधारा (२) अनुसार मिति २०७६ साल कार्तिक १८ गते प्रदेश नं. ५ को प्रदेश प्रमुखको पदमा माननीय श्री धर्मनाथ यादवलाई नियुक्त गर्नुभएको हो । नेपालको संविधानमा प्रदेश प्रमुखको काम, कर्तब्य र अधिकारको बारेमा स्पष्ट उल्लेख छ । संबैधानिक व्यवस्था अनुसार प्रदेश मन्त्रिपरिषदको गठन, मुख्यमन्त्री तथा मन्त्रीहरुको नियुक्ति र सपथ, प्रदेशस्तरीय विभिन्न संवैधानिक पदमा नियुक्ति तथा सपथ, प्रदेश सभाको बैठक आह्वान र समापन, प्रदेश सभालाई संबोधन, विधेयक तथा अध्यादेश प्रमाणीकरण आदि कार्य माननीय प्रदेश प्रमुखबाट सम्पादन गर्नुपर्ने संबैधानिक दायित्व भित्र पर्दछन् । यसको साथै प्रदेश भित्र संचालन हुने विभिन्न सार्वजनिक कार्यक्रम तथा समारोहको गरिमा र मर्यादा बढाउनका खातिर नागरिक समाज, विभिन्न निकाय, संघसंस्थाहरुले कार्यक्रम तथा समारोह आयोजना गर्दा माननीय प्रदेश प्रमुखलाई आमन्त्रण गरिने र उपयुक्त देखिएका कार्यक्रम तथा समारोहहरुमा माननीय प्रदेश प्रमुखको सहभागिता रहने गरेको छ |