संविधान दिवस-२०७५ को शुभ अवसरमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश नं.५, बुटवलद्वारा आयोजित शुभकामना आदान-प्रदान तथा रात्रीभाेज कार्यक्रममा माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूले दिनुभएको शुभकामना सम्बाेधन

माननीय मुख्यमन्त्री, मुख्य न्यायाधिश, प्रदेश सभामुख, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका विपक्षी दलको नेता, उपसभामुख, प्रदेश सभाका समितिका सभापतिहरु एवं माननीय सदस्यहरु
मुख्य न्यायाधिवक्ता, प्रदेश योजना आयोगका उपाध्यक्ष एवं विभिन्न आयोगका सदस्यहरु, प्रमुख सचिव, प्रदेश सभाका सचिव र प्रदेश सरकारका सचिवहरु, न्यायाधिशहरु, जिल्ला/नगर प्रमुख/उपप्रमुखहरु, पृतनापती, प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु, दलका जिल्ला प्रमुखहरु, निजी एवं पेशागत संगठनका प्रमुखहरु, निजी क्षेत्रका व्यक्तित्वहरु, संचारकर्मीहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्ष पछि प्राप्त भएको नेपालको संविधान जारी भएको ३ वर्ष पूरा भएको यस सुखद अवसरमा म यहाँ उपस्थित महानुभाव लगायत सम्पूर्ण देशवाशीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । यस अवसरमा म राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएका बलिदानीपूर्ण आन्दोलनका सहिदहरु प्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु । संविधानको प्रमुख विशेषता नै संघीयता रहेकाले नेपालको संविधान जारी भएपछि यसले स्थापित गरेको संघीय संरचनालाई कार्यान्वयन गर्ने सिलसिलामा प्रदेशहरुको स्थापना भएको सर्वविदितै छ । संघीय/प्रादेशिक र स्थानीय तीन तहका जननिर्वाचित शासकीय संरचना निर्माण भई संविधान कार्यान्वयनका लागि गतिशिल रहंदै आएका छन् । संविधानको सफल कार्यान्वयनबाट मात्रै संविधानले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने र देश समृद्धिको यात्रामा अगाडि बढ्ने हुँदा यसको सफल कार्यान्वयनका लागि हामी सबैको ऐक्यबद्धता, सहकार्य र क्रियाशिलताको आवश्यकता छ । संविधानले देशको राजनीतिक प्रणालीलाई मात्र परिवर्तन गरेको छैन, देशको आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरणको लागि पनि कोशेढुंगा सावित भएकोले यसको सफल कार्यान्वयन नै आजको आवश्यकता हो । प्रादेशिक सरकारहरुको बलियो जीवन्तताबाट नै संघीयता सफल हुने कुरामा हामी सबै विश्वस्त छौं ।

संविधान सभाबाट जारी भएको नेपालको संविधानले नागरिक स्वतन्त्रता, मौलिक हक तथा मानव अधिकार, प्रेस स्वतन्त्रता, कानूनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने सुनिश्चित गरेको छ । भौगोलिक, जातीय, भाषिक र साँस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा सार्वभौमसत्ता सम्पन्न स्वाधीन नेपाली नागरिकहरुबीच ऐक्यबद्धता कायम गराई सबल राष्ट्र निर्माणमा केन्द्रीत हुने उद्देश्य राखेको छ । यस क्रममा तीनै तहका सरकारहरुबाट प्रदेश र स्थानीय सरकार संचालनको लागि आवश्यक कानून निर्माण गर्ने, योजना र कार्यक्रम तयार गर्ने, पूर्वाधार एवं स्रोत व्यवस्थापनको माध्यमबाट जनताको जीवनस्तर सहज बनाउने कार्यहरु एक साथ दु्रत गतिमा बढाउनु अहिलेको आवश्यकता हो ।

अन्त्यमा, आजको यस ऐतिहासिक दिवसले प्रदेसवासी सबै नागरिकको उत्साहपूर्ण सहभागीतामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा प्रदेशको दिगो समृद्धिका लागि एक जुट हुने प्रेरणा मिलोस भन्ने कामना गर्दछु । संविधानद्वारा निर्देशित मार्गमा अगाडि बढ्दै हाम्रा उद्देश्य प्राप्त गर्न सफलता मिलोस् । संविधानको मर्म बमोजिम प्रत्येक नागरिकले हरदम सुरक्षित र स्वतन्त्र महसुस गर्ने, मानवोचित जीवनयापन गर्ने, राष्ट्र निर्माणमा सक्रिय सहभागिता जनाउन लालयित हुने, नागरिकहरु बीच एक आपसमा सदभाव र सम्मानको अभिबृद्धि भै नेपाल राष्ट्रको नागरिक भएकोमा गौरबको अनुभूति गर्ने किसिमको वातावरण सिर्जना गरौं भन्दै यस विशेष कार्यक्रममा पाल्नुभएका सबै महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

धन्यवाद !

मिति : २०७५ अश्विन ३ गते बुधबार

(उमाकान्त झा)
प्रदेश प्रमुख