माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूबाट प्रदेश स्थापना दिवस, २०७५ को अवसरमा प्रदेश प्रमुखको कार्यालयले २०७५ फागुन ३ गते आयोजना गरेको  शुभकामना आदान प्रदान कार्यक्रममा दिनु भएको मन्तब्यको पूर्ण अंक

प्रदेश सरकार प्रदेश नं. ५ स्थापना भएको एक वर्ष पूरा भएको यस सुखद अवसरमा म यहाँ उपस्थित महानुभाव लगायत सम्पूर्ण प्रदेशबासीहरूमा हार्दिक शुभ कामना व्यक्त गर्न चाहन्छु ।

आजको दिनलाई प्रदेश सरकारले प्रदेश स्थापना दिवस घोषणा गरी व्यापक जनसहभागिताका साथ विविध कार्यक्रम गरेको र प्रदेश प्रमुख कार्यालयले पनि आजको यस अवसरमा शुभकामना आदान प्रदानका साथ मनाउन पाउँदा खुशी लागेको छ। आज विहानै मात्र सम्पन्न प्रदेश सरकारको स्थापना दिवसमा प्रदेशको झझल्को दिने गरी भएका विभिन्न समुह र जातजातिको उत्साहप्रद झाकी , माचपास र जनसहभागिताको म यहाँ स्मरण गर्न चाहान्छु । स्थापना दिवस मनाउन प्रदेश सरकार, स्थानीय तह लगायत बाट भएको कार्यको प्रसंशा समेत गर्न चाहान्छु । यस अवसरमा प्रदेश सरकार स्थापनाको लागि आवश्यक भौतिक संरचना र आवश्यक सहयोग उपलब्ध गराई प्रदेश सरकारलाई कार्य सम्पादन गर्ने वातावरण सृजना गरिदिनु हुने प्रदेश नं ५ का नागरिक, सामाजिक/व्यवसायिक संघ, संस्था, नागरिक समाज तथा नेपाल सरकारका कार्यालयहरू धन्यवादका पात्र छन्।

प्रदेश संरचना हाम्रो लागि नितान्त नौलो व्यवस्था भएतापनि नेपालको संविधानले मार्ग निर्देशन गरे बमोजिम यस प्रदेशबाट निर्वाचित जनप्रतिनिधिहरूको सक्रियताले प्रदेश सरकार सञ्चालनका आधारशिला तयार भई सकेका छन् । उपयुक्त भौतिक संरचना, दक्ष र पर्याप्त जनशक्ति, कानून तथा कार्यविधिको सीमितता बीच प्रदेश सरकार र प्रदेश सभाले एक वर्षको अवधिमा सम्पादन गरेका कार्यहरू प्रशंसनीय छन् । ती निकायहरूबाट एक वर्षको अवधिमा सम्पादन भएका कार्यहरूको प्रगति विवरण समावेश भएको स्मारिका मार्फत प्राय हामी सबैलाई जानकारी भई सकेकै छ। प्रदेश प्रमुखको कार्यालयबाट सम्पादित कार्यहरू यसै कार्यक्रममा विमोचन भएको “प्रतिबिम्ब” पुस्तिका मार्फत केही मात्रामा भएपनि जानकारी हुने विश्वास लिएको छु । एक वर्षको अवधिमा कम्तीमा हामी आफू के, कहाँ रहेछौं, हाम्रो जिम्मेवारी के रहेछ,कार्य सम्पादन क्षमता बढाउन के गर्नुपर्ने रहेछ भन्ने संवैधानिक अभ्यास गर्यौ । यस क्रममा कार्यालयले सम्पादित कार्य संवैधानिक अधिकार क्षेत्र भित्र रहेको कुरामा म विश्वस्त छु । यस एक वर्षे अनुभव बाट आगामी दिनहरुमा कार्य सम्पादन गर्न मार्ग प्रशस्त हुने छ भन्ने ठानेको छु ।

मर्चवार देखि पुथाहिमालसम्मका जैविक, जातीय, भाषिक र धार्मिक-सांस्कृतिक विविधता युक्त यस प्रदेशमा विद्यमान स्रोतको स्थानीय जनताको व्यापक सहभागितामा सदुपयोग गरी प्रदेशलाई समृद्ध बनाउने हामी सबैकोएक मात्र साझा उद्देश्य हो । हाम्रो संविधानले संघीयसंरचना बीच अधिकार र जिम्मेवारी, स्रोत साधन र प्रशासनको साझेदारी गर्दै सुमधुरसहयोगात्मक सम्बन्धको विकास र विस्तार गर्न मार्ग निर्देश गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारको सार्थक प्रयत्न र चाहनाले मात्र द्रुत गतिको विकास सम्भव हुन्छ र संघीयता मजबुत हुने आधार यही हो । संघ र प्रदेश तथा संघ, प्रदेश र स्थानीय तहको अधिकारका साझा सूचीमा परेका विषयहरुमा पनि चाडैनै कानून निर्माण भई कार्यान्वयनमा  आउने भन्ने कुरामा विश्वास लिएको छु । प्रदेशकोगरिबी घटाउने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा पहुँच र गुणस्तर बढाउने, रोजगारीका अवसरहरू श्रृजना गर्ने, मौजुदा पूर्वाधारको अधिकत्तम उपयोग गर्ने र थप पूर्वाधारको व्यवस्था गर्ने लगायत प्रदेश सरकारले कार्यान्वयन गरेका नीति तथा कार्यक्रमहरू प्रशंसनीय छन्।तीकार्यक्रमहरू संघ र स्थानीय सरकारसँगको समन्वयमा प्रदेशको विविधतायुक्त विशेषतालाई आत्मसात गरी समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूर्तिमा प्रदेश सरकारले  महत्वपूर्ण योगदान दिनेमा म विश्वस्त छु ।

अन्त्यमा, यस ऐतिहासिक घडीमा प्रदेशका सबै नागरिकको उत्साहपूर्ण सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा प्रदेशको दिगो शान्ति र समृद्धिको लागि एकजुट हुने प्रेरणा मिलोस् । प्रादेशिक संरचनाहरु जन अपेक्षा अनुरूप सफलता प्राप्त गरी प्रदेशका सार्वभौम नागरिकहरूको आस्था र भरोसा बन्न सकुन भन्दै उपस्थित सबैमा हार्दिक स्वागत एवं धन्यवाद ज्ञापन गर्दै प्रदेश स्थापना दिवसको अवसरमा पुन: बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

उमाकान्त झा

प्रदेश प्रमुख

२०७५/११/०३ शुक्रबार