नववर्ष २०७६ को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख‚ शान्ति, समृद्धि एवं भातृत्व र एकताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नववर्षले हामी सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना ब्यक्त गर्दछु।
नेपालको संविधानमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली‚ मौलिक हक तथा मानव अधिकार‚ कानूनी राज्यको अवधारणा सहित लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने लक्ष्य रहेको छ । नेपालको विविधतायुक्त विशेषतालाई आत्मसात गरी समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा सार्वभौमसत्ता सम्पन्न हामी नेपाली नागरिकहरु ऐक्यवद्ध भई सबल एवं समृद्ध राष्ट्र निर्माण कार्यमा जुट्नु पर्ने बेला भएको छ । यसका लागि सरकार‚ राजनैतिक दल, निजी क्षेत्र‚ नागरिक समाज‚ बुद्धिजीवी एवं नेपालका विकास साझेदार लगायत सबैको एकता र सहकार्यको खाँचो छ ।
समृद्ध नेपाल सुखी नेपालीको मर्मलाई आत्मसात गर्दै संघ, प्रदेश र स्थानीय सरकारहरु संविधान प्रदत्त अधिकारहरुको ब्यवहारिक कार्यान्वयनका लागि दीर्घकालीन नीति‚ योजना‚ ऐन‚ नियम‚ बजेट तथा कार्यक्रमहरुको तर्जुमा र कार्यान्वयनमा तिब्र गतिमा लागि परेको र उक्त सक्रिय प्रयासबाट लोकतन्त्रका अवयवहरु संस्थागत भई गुणस्तरीय प्रतिफल प्राप्त हुने र नागरिकहरुले स्वशासनबाट सुशासनको अनुभूति गरी राष्ट्रिय एकता अझ बलियो भई आर्थिक समृद्धिको यात्रा साकार हुने विश्वास लिएको छु ।
अन्तमा, सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा नववर्ष २०७६ ले राष्ट्रिय एकता र सामाजिक सदभाव कायम गर्दै नेपालको आर्थिक समृद्धिको लागि नयाँ जोश, उमङ्ग र उत्साह निरन्तर पैदा हुन सकोस् भन्ने शुभकामना प्रकट गर्दछु ।
धन्यवाद !
मिति २०७६ साल बैशाख १ गते आईतबार । (उमाकान्त झा)
प्रदेश प्रमुख