शुभकामना


माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूले गणतन्त्र दिवस-२०७६ काे पावन अवसरमा दिनुभएको शुभकामना सन्देशकाे पूर्ण पाठ

२०६५ साल जेष्ठ १५ गते बसेको ऐतिहासिक संविधान सभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरि नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको दिनको स्मरण गर्दै प्रत्येक वर्ष हामी आजको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउँदै आएका छौं । नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र स्थापनाको १२औं बर्षमा प्रवेश गरेको यस महत्वपूर्ण अवसरमा गणतन्त्रको स्थापनार्थ आफ्नो प्राणको आहुति दिनुहुने ज्ञात अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा गणतन्त्र दिवस–२०७६ को हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक दिवसले हामी सबै नेपालीलाई राष्ट्रिय एकताको प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।

समृद्ध नेपाल सुखी नेपालीको मर्मलाई आत्मसात गर्दै संघ, प्रदेश र स्थानीय सरकारहरु संविधान प्रदत्त अधिकारहरुको व्यवहारिक कार्यान्वयनद्वारा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सवलीकरणमा अघि बढेका छन् । यसै सन्दर्भमा प्रदेश सरकारले समृद्ध प्रदेश खुशी जनताको नारालाई सार्थक बनाउन दीर्घकालिन नीति, योजना, ऐन, नियम, बजेट तथा कार्यक्रमहरुको तर्जुमा र कार्यान्वयनलाई सक्रिय रुपमा अगाडि बढाएको छ । जसका माध्यमबाट लोकतन्त्रका मुल्य मान्यता संस्थागत भई विधिको शासन कायम गर्न, राजनीतिक, सामाजिक, आर्थिक स्थिरता प्राप्त गर्न तथा राष्ट्रिय एकता र आर्थिक समृद्धि र विकासको आधार तय गर्न सघाउ पुग्ने मैले विश्वास लिएको छु ।

अन्त्यमा, प्राकृतिक, सामाजिक, साँस्कृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण हाम्रो देश नेपालमा राजनीतिक स्थायित्व, शान्ति सुव्यवस्था कायम गर्न र आर्थिक विकासका माध्यमद्वारा आमनागरिकको आवश्यकता र चाहनालाई साकार पार्नका लागि सरकार, सबै राजनीतिक दल र जनसमुदाय एकजुट हुने विश्वास लिँदै गणतन्त्र दिवस सार्थक रहोस् भन्ने शुभकामना दिन चाहन्छु ।

धन्यवाद ।

मितिः २०७६ साल जेष्ठ १५ गते बुधवार ।

(उमाकान्त झा)
प्रदेश प्रमुख
                                                                                                                           

बिज्ञप्ति तथा सूचना

शुभकामना

शुभकामना