संविधान दिवस – २०७६ को अवसरमा प्रदेश प्रमुखको कार्यालय, बुटवलद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूले दिनुभएको शुभकामना सन्देश…


नेपाली जनताले लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको आफ्नो संविधान आफै बनाउने अवसरको सदुपयोग गर्दै जननिर्वाचित संविधान सभाबाट नेपालको संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान दिवस–२०७६ को यस सुखद् अवसरमा म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । साथै, यस ऐतिहासिक अवसरमा जनतालाई पूर्ण सार्वभौमसत्ता सम्पन्न बनाउने क्रममा राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि विभिन्न समयमा भएका बलिदानीपूर्ण आन्दोलनका सम्पूर्ण शहीदहरु प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछु ।
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक तथा मानव अधिकार, प्रेस स्वतन्त्रता, कानूनी राज्यको अवधारणा लगायत प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने लक्ष्य लिएको छ । नेपालको भौगोलिक, जातीय, भाषिक र साँस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा सार्वभौमसत्ता सम्पन्न स्वाधीन नेपाली नागरिकहरुबीच ऐक्यबद्धता कायम गराई सबल राष्ट्र निर्माण गर्ने उद्देश्य राखेको छ ।
संविधानमा परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय इकाइहरु बीचको सम्बन्ध सञ्चालन गर्दै स्थानिय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्दान्तलाई आत्मसात् गरिएको छ । लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीतिक उद्देश्य रहे अनुरुप संविधानले मार्गनिर्देश गरेको लक्ष्यतर्फ जनतालाई अग्रसर गराउन जनादेश प्राप्त संघ, प्रदेश र स्थानीय सरकारहरुले आ—आफ्नो नीति, ऐन, नियम, योजना, कार्यक्रम र बजेट तर्जुमा गरी कार्यान्वयन गरिरहेका छन् । ती नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा सम्बन्धित क्षेत्रका नागरिकहरुको सक्रिय सहभागिताबाट प्रभावकारी कार्यान्वयनमा वल पुग्न गई गुणस्तरीय प्रतिफलप्राप्त हुनेछ । यसबाट जनताले स्वशासनको अनुभूति गर्ने र राष्ट्रिय एकता अझ बलियो भई समृद्ध प्रदेश खुशी जनताको अवधारणा सार्थक हुने विश्वास लिएको छु ।
अन्त्यमा, आजको यस ऐतिहासिक दिवसले प्रदेशवासी सबै नागरिकहरुबीच आपसी सदभाव र एक्यवद्धतामा अभिवृद्धि गर्दै समृद्धिका लागि उत्साहपूर्ण सहभागीतातर्फ थप प्रेरणा प्रदान गर्ने अपेक्षाका साथ समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै नजिकिदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी २०७६ को शुभ उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, दीर्घायु एवं समृद्धिका लागि अग्रिम मंगलमय शुभकामना ।
धन्यवाद ।

२०७६ असोज ३ गते शुक्रबार ।