शुभकामना


आज वैशाख शुक्ल पूर्णिमाको दिन अर्थात शान्तिका अग्रदूत भगवान गौतम वुद्धको जन्म भएको दिन हो । संसारभरी नै आज २५६४ औं वुद्ध जयन्ती भगवान गौतम वुद्धका मानव जीवन उपयोगी सन्देशहरुको स्मरण सहित विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईंदै छ । यस अवसरमा म देश तथा विदेशमा रहनुभएका सम्पूर्ण वौद्ध धर्मावलम्वी दाजुभाई तथा दिदीवहीनीहरुमा सुख, शान्ति समृद्धि एवं सुस्वास्थ्य र एकताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

आजभन्दा २५६४ वर्ष अघि नेपालको लुम्विनीमा आजकै दिन राजा शुद्धोदन र रानी मायादेवीको कोखबाट जन्मनुभएका सिद्धार्थ गौतमले मानव जीवनको हितका लागि विभिन्न उपदेशहरु दिनुभएको छ । यी उपदेशहरुले सत्चरित्रका साथ जीवन सार्थक बनाउन समस्त मानव समुदायलाई आजपनि उत्तिकै मार्गदर्शन गरिरहेका छन् । यिनै उपदेशहरुले अहिंसाको मार्ग अवलम्वन गर्दै विश्वमा शान्तिको सन्देश फैलाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । समस्त प्राणी जगतकै भलाईका लागि दिएका उपदेशहरुकै कारण वुद्धलाइ एशियाका तारा तथा शान्तिका अग्रदूतको रुपमा समेत संसारभर सम्मान प्रकट गरिन्छ ।

हाल केही समयदेखि विश्वमै COVID-19 भाईरस महामारीको रुपमा फैलिएर विभिन्न देशहरुमा ठूलो जनधनको क्षति भैसकेको छ। यसबाट अझैपनि मानव जगतले चुनौतिको सामना गरिरहेको अहिलेको अवस्थामा हामी मात्रै होइन, संसारका प्राय: सबैजसो मुलुकहरु आक्रान्त छन्। गौतम वुद्धले देखाउनुभएका सत्मार्गहरुको अवलम्वनबाट नै हामी अहिलेको यस जटील अवस्थाबाट समेत छिट्टै मुक्त हुन सफल हुने विश्वास लिएको छु ।

अन्त्यमा, यस २५६४ औं वुद्ध जयन्तीले हामी सवैलाई शान्ति र अहिंसाका साथै मानव समुदायकै साझा समस्याको रुपमा रहेको यो महामारीबाट शीघ्र मुक्तिका लागि हाम्रा प्रयासहरुलाइ अझ एकताबद्ध र प्रभावकारी बनाउन सबैलाइ प्रेरित गर्ने विश्वासका साथ सम्बद्ध सबैमा पुन: हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२०७७ वैशाख २५
वुटवल ।

   धर्मनाथ यादव
प्रदेश प्रमुख