परिचय

नेपालको संबैधानिक प्रावधान अन्तर्गत संघीय व्यवस्थाको प्रादेशिक अवधारणा अनुसार सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालय स्थापना गर्ने क्रममा प्रदेश नं. ५ को प्रदेश प्रमुखको कार्यालय, प्रथम प्रदेश प्रमुखको रुपमा माननीय श्री उमाकान्त झाको २०७४ साल माघ ७ गते पद वहालीसँगै बुटवलमा स्थापना भएको थियो । यो कार्यालय साविकमा बुटवल व्यापार संघको भवनमा स्थापना भई कार्य आरम्भ गरिएको तथा प्रदेश प्रमुखको आवास सडक डिभिजन कार्यालय‚ बुटवलको अतिथि गृहमा रहेकोमा हाल प्रदेश प्रमुखको आवास तथा कार्यालय तत्कालिन उच्च सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनमा रहेको छ ।
नेपालको संविधानद्वारा प्रदत्त काम, कर्तब्य र अधिकारको पालना तथा प्रयोग एवं विभिन्न कार्यक्रम र समारोहमा सहभागिताका सन्दर्भमा माननीय प्रदेश प्रमुखलाई सहयोग पुर्‍याउन तथा सहजीकरण गर्नका लागि नेपाल निजामती सेवा, प्रशासन सेवाका रा.प. प्रथम श्रेणीको अधिकृत (सचिव) को नेतृत्वमा प्रशासनिक काम कारबाही हुने गरी प्रदेश प्रमुखको कार्यालय रहने व्यवस्था छ । माननीय प्रदेश प्रमुखको प्रशासकीय निकायको रुपमा रहेको यो कार्यालयबाट मुख्य रुपमा निम्‍न कार्यहरु सम्पादन हुन्छ ।

१.संबैधानिक पदाधिकारीहरुको नियुक्ति, सपथ र प्रतिवेदन ग्रहण आदि कार्यक्रमको व्यवस्थापन सम्बन्धी कार्य,
२.विधेयक तथा अध्यादेश प्रमाणीकरण सम्बन्धी कार्य,
३.माननीय प्रदेश प्रमुखबाट हुने सम्बोधन, शुभकामना सन्देश आदि तयारी सम्बन्धी कार्य,
४.माननीय प्रदेश प्रमुखको स्वदेशी तथा विदेशी ब्यक्तित्वहरुसँगको भेटघाटको व्यवस्थापन सम्बन्धी कार्य,
५.माननीय प्रदेश प्रमुखलाई सम्बोधन गरी प्राप्त पत्र, निवेदन तथा ज्ञापनपत्रहरुको अध्ययन विश्लेषण गरी आवश्यक कार्यवाहीको लागि
सम्वन्धित निकायमा पठाउने कार्य,
६.विभिन्न औपचारिक/अनौपचारिक कार्यक्रमहरुको व्यवस्थापन र समन्वय गर्ने कार्य,
७.प्रदेश प्रमुखको कार्यालयसँग सम्बन्धित गतिविधिहरुलाई प्रेस विज्ञप्ति मार्फत सञ्चार माध्यमबाट सार्वजनिक गर्ने कार्य,
८. माननीय प्रदेश प्रमुखको स्वदेश/बैदेशिक भ्रमण व्यवस्थापन सम्बन्धी कार्य,
९.प्रदेश प्रमुखको कार्यालयसँग सम्बन्धित विभिन्न कार्यको सन्दर्भमा संघीय, अन्य प्रदेश तथा स्थानीय तहसँग समन्वय गर्ने कार्य,
१०. माननीय प्रदेश प्रमुखबाट हुने आदेश/निर्देशन बमोजिमका कार्य कार्यान्वयन गर्ने कार्य,
११.कार्यालयको बार्षिक कार्यक्रम कार्यान्वयन, अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण सम्बन्धी कार्य ।