शुभकामना


शुभकामना

बिजया दशमी २०७५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सु–स्वास्थ्य, दिर्घायु, सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । असत्य माथि सत्यको विजय भएको प्रतीकका रूपमा मनाईदै आएको यस पर्वले समस्त नेपालीहरूमा नयाँ जोश, उमंग तथा उत्साहको संचार गर्न सकोस् भन्ने कामना समेत गर्न चाहन्छु ।

नेपालको संविधानले सबै जातजाति र धर्माबलम्बीहरूलाई समान रूपले आफ्नो अधिकार प्रयोग गर्न पाउने हकको सुनिश्चितता गरेको छ । आफ्नो आस्था अनुसारको चाडपर्व मनाउन पाउने संविधानप्रदत्त अधिकारले नेपालमा बर्षैभरी विविध धर्मावलम्बीहरूले चाडपर्वहरूलाई उत्सबका रूपमा मनाउँदै आइरहेका छन् ।

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले धार्मिक चाडपर्वहरूले नेपालीलाई एक आपसमा सद्भाव र एकताको सुत्रमा बाँध्न भूमिका खेल्नुका साथै सामाजिक सद्भाव, राष्ट्रिय एकता र अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान पुर्ंयाएका छन् ।

सनातनदेखि चलिआएका धर्म, सँस्कृतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । धार्मिक सद्भाव र एकताबाट मात्रै राष्ट्रियता मजवुत हुने र यसले नेपालको समृद्धिको यात्रालाई सहज बनाउने हुँदा सरकार, राजनीतिक दल, निजी क्षेत्र, बौद्धिक समुदाय, संचार जगत लगायत सबैको यसतर्फ ध्यान जानु आवश्यक छ ।

अन्त्यमा, ज्ञानरूपी दियो बालेर अन्धकार रूपी अज्ञानतालाई परास्त गरी आत्मारूपी मन्दिर उज्यालो पार्ने र लोभ, मोह, क्रोध, अहंकार जस्ता दुर्गुणहरूलाई परास्त गर्ने पर्वका रूपमा यस पर्वलाई लिईयोस । सबै नेपालीले खुसीका साथ यो पर्व मनाउने अवसर प्राप्त गर्न सकुन् भन्दै पुनः बिजया दशमी २०७५ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

धन्यवाद !

मितिः २०७५ कार्तिक २ गते शुक्रबार ।

(उमाकान्त झा)
प्रदेश प्रमुख