प्रथम प्रदेश सभा स्थापना दिवसका अवसरमा माननीय प्रदेश प्रमुख  श्री उमाकान्त झाज्यूबाट दिनुभएको शुभकामना मन्तब्यको पूर्ण पाठ

प्रदेश नं. ५ को प्रथम प्रदेश सभा दिवस कार्यक्रममा प्रदेश सभाका माननीय सभामुख सम्पूर्ण पदाधिकारी एवम् माननीय सदस्यहरुलाई बधाई  तथा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । यस गरिमामय कार्यक्रममा मलाई आमन्त्रण गरी संबोधन गर्ने अवसर प्रदान गर्नु भएकोमा प्रदेश सभा प्रति धन्यवाद व्यक्त गर्दछु ।

नेपालको संविधानमा राज्यको शासकीय शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तह मार्फत गर्ने व्यवस्था भए अनुसार प्रदेश नं. ५ को यो प्रदेश सभाको पहिलो ऐतिहासिक बैठक बसेको आज एक वर्ष पुरा भएको छ । नयाँ संवैधानिक व्यवस्था कार्यान्वयनको प्रथम चरणमा प्रदेशका सम्पूर्ण संरचनाहरू स्थापना गर्नुपर्ने भएको तर अनुभवी एंब पर्याप्त जनशक्ति तथा भौतिक पूर्वाधारको अभावका बावजुद प्रदेश सभाले सम्पादन गरेका कार्यहरूले प्रादेशिक संरचनालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको कुरा स्मरणीय रहेको छ । एक वर्षको यस अवधिमा संस्थागत रुपमा प्रदेश सभा स्थापित भई प्रदेश सभा संचालन सम्बन्धमा विभिन्न नीति, नियम, कार्यविधि निर्माण गर्नुका साथै प्रदेश सभाबाट १६ वटा विधेयक पारित भएका र ती विधेयकहरु प्रमाणीकरण भई हाल ऐनको रुपमा कार्वान्वयनमा आएका छन् भने केही विधेयकहरु पारित हुने प्रकृयामा रहेका छन् ।

माननीय सदस्यज्यूहरूले सार्वभौम जनताको चाहाना र आकांक्षालाई प्रदेश सरकारसम्म पुर्‍याई सो अनुरूपको नीति, नियम र शान्ति सुव्यवस्था कायम गर्न र सरकारको कार्य प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलिरहनु भएकोमा खुशी लागेको छ । त्यस्तै संघ तथा प्रदेश सरकारबाट संचालन भएका आयोजनाहरूलाई प्रभावकारी रूपले कार्यान्वयन गर्नको लागि परामर्श, अनुगमन, मूल्याङ्कन कार्यको गतिले सुशाशनलाई मद्धत पुगेको छ । यसरी प्रदेश सभाले जनताको हितलाई सदैव सर्वोपरी राखी राज्यको श्रोतको समुचित सदुपयोग गर्न, प्रदेशमा प्रवाह हुने सेवामा सुशासन कायम गर्न राज्यका कार्यक्रमहरूमा जनताको सहभागिता र अपनत्व बृद्धि गर्न अहोरात्र क्रियाशिल रहँदै आउनु भएको छ । “संमृद्ध नेपाल, सुखी नेपाली” को आकांक्षालाई सार्थक तुल्याउन प्रदेश सभाले अमूल्य योगदान पुर्‍याएकोछ र आगामी दिनमा समेत योगदान पुर्‍याइ रहनेमा म पूर्ण विश्वस्त छु ।

नेपालको संबिधानले तीन तहको संरचना ब्यवस्था गरेबमोजिम तिन तहका आ-आफ्नै भूमिका र कर्तव्यहरु छन्। संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थापित तीनै तहका संरचना वलियो र प्रभाबकारी बनाउनु हामी सबैको दायित्व हो । तीन तह मध्ये प्रादेशिक संरचना अन्तर्गत प्रदेशसभाको भूमिका संघियता मजबुत बनाउने महत्वपूर्ण आधार हो । प्रदेशसभा प्रादेशिक र राष्ट्रिय मुद्धाको बहसको थलो मात्र नभएर प्रदेश सरकारलाई आबश्यक पर्ने कानुन निर्माण र सरकार संचालनमा सहजीकरणका लागी महत्वपूर्ण   भूमिका खेल्ने मंच पनि हो । यसै अनुरुप प्रदेशसभाले आफ्नो भूमिका निर्वाह गर्दै आएको मैले पाएको छु । आगामी दिनमा प्रादेशिक ब्यवस्थालाई बलियो बनाउदै संघियता सृदृढ बनाउने कार्यमा अझ प्रभाबकारी भूमिका खेल्ने अपेक्षा लिदै प्रदेशसभालाई सबै पक्षबाट रचनात्मक सहयोग प्राप्त हुने कुरामा विश्बस्त छु ।

अन्त्यमा, तराइ देखि हिमाल सम्मका जैविक, जातीय, भाषिक र धार्मिक-सांस्कृतिक विविधता युक्त यस प्रदेशमा मौजुदा प्राकृतिक श्रोतको सदुपयोग र विकास गर्दै सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोत्तम हित र उन्नतिको लागि प्रदेश नं. ५ को प्रदेश सभाले जनअपेक्षा अनुकूल सफलता प्राप्त गर्न सकोस् भन्ने शुभेच्छा सहित प्रथम प्रदेश सभा दिवसको अवसरमा पुन: शुभकामना व्यक्त गर्दछु।

धन्यवाद !

उमाकान्त झा

प्रदेश प्रमुख

मितिः २०७५ माघ २१ गते ।