नेपाली जनताको पूर्ण सार्वभौमसत्ता सम्पन्न हुने उद्देश्यले गरेको लामो बलिदानीपूर्ण संघर्षको परिणाम स्वरुप नेपालको संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान दिवस–२०७६ को पावन अवसरमा म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । साथै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएका बलिदानीपूर्ण आन्दोलनका सहिदहरु प्रति हार्दिक भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु ।
नेपालको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक तथा मानव अधिकार, प्रेस स्वतन्त्रता, कानूनी राज्यको अवधारणा लगायत प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने लक्ष्य रहेको छ । नेपालको भौगोलिक, जातीय, भाषिक र साँस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा सार्वभौमसत्ता सम्पन्न स्वाधीन नेपाली नागरिकहरुबीच ऐक्यबद्धता कायम गराई सबल राष्ट्र निर्माण हुने उद्देश्य राखेको छ ।
जनादेशप्राप्त संघ, प्रदेश र स्थानीय सरकारहरु संविधानले मार्गनिर्देश गरेको लक्ष्यतर्फ जनतालाई अग्रसर गराउनको लागि नीति, ऐन, नियम, योजना, कार्यक्रम, बजेट तर्जुमा र कार्यान्वयनको प्रक्रियामा रहेका छन् । यी प्रक्रियाहरुमा तत् क्षेत्रका नागरिकहरुको सक्रिय सहभागिताबाट व्यवहारिक योजना तर्जुमा र प्रभावकारी कार्यान्वयनमा वल पुग्न गई गुणस्तरीय प्रतिफल प्राप्त हुने तथा जनताले स्वशासनको अनुभूति गरि राष्ट्रिय एकता अझ बलियो भई समृद्ध प्रदेश‚ सुखी नेपालीको अवधारणा सार्थक हुने विश्वास लिएको छु ।
अन्त्यमा, आजको यस ऐतिहासिक दिवसले सबै नेपाली नागरिकको उत्साहपूर्ण सहभागीतामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो समृद्धिका लागि एक जुट हुने प्रेरणा प्रदान गर्न सकोस् । संविधानद्वारा निर्देशित मार्गमा अगाडि बढ्दै हाम्रा उद्देश्य प्राप्त गर्न सफलता मिलोस भन्दै मंगलमय शुभकामना व्यक्त गर्दछु ।
२०७६ असोज ३ गते शुक्रबार ।
………………………
(उमाकान्त झा)
प्रदेश प्रमुख