नेपालीहरुको महान पर्व बिजया दशमी– २०७६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सु–स्वास्थ्य, दिर्घायु, सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । असत्य माथि सत्यको विजय भएको प्रतीकका रूपमा हर्ष र उल्लासका साथ मनाईदै आएको यस पर्वले समस्त नेपालीहरूमा नयाँ जोश, उमंग तथा उत्साहको संचार गर्न सकोस् भन्ने कामना समेत गर्न चाहन्छु ।
नेपालमा बर्षैभरी विभिन्न धर्मावलम्बीहरुले आ–आफ्ना चाडपर्वहरुलाई साँस्कृतिक उत्सबका रुपमा मनाउँदै आइरहेका छन् । यस्ता चाडपर्वहरुले विभिन्न जात, जाति, धर्म, भाषा, सँस्कृति र सम्प्रदायवीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले धार्मिक चाडपर्वहरूले नेपालीलाई एक आपसमा सद्भाव र एकताको सुत्रमा बाँध्न भूमिका खेल्नुका साथै सामाजिक सद्भाव, राष्ट्रिय एकता र अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान पु¥याएका छन् । सनातनदेखि चलिआएका धर्म, सँस्कृतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । धार्मिक तथा साँस्कृतिक सद्भाव र व्यक्ति तथा समुदायहरुबीचको आपसी एकताबाट मात्रै राष्ट्रियता मजवुत हुने र यसले नेपालको समृद्धि तर्फको यात्रालाई सहज बनाउने हुँदा तीनै तहका सरकार, राजनीतिक दल, निजी क्षेत्र, बौद्धिक समुदाय, संचार जगत लगायत सबैको ध्यान यसतर्फ जानु आवश्यक छ ।
अन्त्यमा, विभिन्न समुदायहरुमा आ–आफ्नो परम्पराका आधारमा विभिन्न किसिमले मनाइने यस विजया दशमी पर्वले ज्ञानरूपी दियो बालेर अन्धकार रूपी अज्ञानतालाई परास्त गरी आत्मारूपी मन्दिर उज्यालो पार्ने र लोभ, मोह, क्रोध, अहंकार जस्ता दुर्गुणहरूलाई परास्त गर्ने पर्वका रूपमा मनाउन सबैलाई प्रेरित गरोस् भन्दै बिजया दशमी– २०७६ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
मितिः २०७६ असाेज २१ गते मंगलबार ।
(उमाकान्त झा)
प्रदेश प्रमुख