शुभ दीपावली २०७६‚ नेपाल सम्वत् ११४० तथा छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
मानव सभ्यताको आदिकाल देखि नै विभिन्न समुदायहरुले सामूहिक रुपमा अवलम्वन गर्दै आएका प्रचलनहरुले आपसमा अपनत्व र सद्भावको भावनामा अभिवृद्दि गर्न महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् । निरन्तर अभ्यास गर्दै जाँदा ती प्रचलनहरु नै सामाजिक पहिचानको रुपमा स्थापित भै साँस्कृतिक वैभवको रुपमा रहेका हुन्छन् । विभिन्न साँस्कृतिक विविधताले भरिपूर्ण रहेको नेपाली समाजमा सबै समुदायहरु आ-आफ्ना संस्कृतिहरुमा अत्यन्त गौरव गर्दै तिनको निरन्तर अवलम्वन, अभ्यास र संरक्षणप्रति पनि उत्तिकै सचेत र जिम्मेवार रहँदै आएका छन् ।
घर घरमा दीपावली सहित यमपञ्चक अवधिमा काग, कुकुर, गाई, धनधान्यकी देवी लक्ष्मीको पूजा, गोबर्धन पूजा, म्हःपूजा गरी तथा दिदि बहिनीहरुले आ-आफ्ना दाजुभाईहरुलाई टीका लगाई हर्षोल्लासका साथ मनाइने चाड तिहारले सम्पूर्ण नेपालीहरूको मुहारमा उज्यालोपन ल्याउन सकोस् । नेपाल सम्वत् ११४० ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्ने कार्यमा अझ बढी प्रेरणा प्रदान गरोस् । साथै पारिवारिक कल्याण तथा मनोकामना पूरा हुने विश्वासका साथ छठी माता र सूर्य देवताको पूजा आराधना गरी एक आपसमा शुभकामना आदान प्रादन गर्दै मनाइने छठ पर्व २०७६ ले सबै नेपालीमा राष्ट्रिय एकता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न मद्दत पुर्याउन सकोस् ।
अन्त्यमा, शुभ दीपावली २०७६‚ नेपाल सम्वत् ११४० तथा छठ पर्वले उत्साह र उमङ्गका साथ खुशीको संचार गर्दै सम्पूर्ण नेपालीहरुमा एकता, आपसी सद्भाव र समृद्धिको सन्देश दिन सकोस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछु ।
मितिः २०७६ कार्तिक ८ गते शुक्रबार ।
(उमाकान्त झा)
प्रदेश प्रमुख