आज जेठ १५ गतेका दिन नेपाली जनताबाट निर्वाचित प्रतिनिधिहरुको संविधान सभाको पहिलो बैठकबाट वि.सं. २०६५ सालमा नेपालीलाई संघिय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा गरेको दिन हो । नेपालमा यस दिनलाई हामीले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएका छौ । यस अवसरमा म गणतन्त्र स्थापनाको लागि विभिन्न समयमा भएका बलिदानीपूर्ण संघर्षहरुमा शहादत प्राप्त गर्नु भएका सम्पूर्ण ज्ञात र अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । गणतन्त्र दिवसको यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
गणतन्त्र घोषणा पश्चात त्यसलाई संस्थागत गर्न संविधान सभाद्वारा जारी भएको संविधान बमोजिमका कामहरु गर्दै आजका दिनसम्म आइपुग्दा हामी धेरै अगाडि बढिसकेका छौ । मुलुकले अवलम्बन गरेको व्यवस्थाको संस्थागत विकास र शासकीय सुधार तथा सुशासनको निरन्तरताबाट नै जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकिन्छ । यसका लागि हामी सबैको समन्वयात्मक र साझा प्रयासको आवश्यकता पर्दछ । आजको यस गणतन्त्र दिवसले हामी सबैलाई यसतर्फ थप प्रेरित गर्ने विश्वास लिएको छु ।
हालका केही महिनायता विश्वमै COVID-19 भाईरस महामारीको रुपमा फैलिएर विभिन्न देशहरुमा ठूलो जनधनको क्षति भैसकेको छ । महामारीबाट मानव जीवनको रक्षा गर्नु नै अहिले सबैको प्रमुख उद्देश्य र प्राथमिकता बन्न पुगेको छ । यसबाट आम नागरिकहरुको दैनिकी थप कष्टकर बन्न पुगेको छ । विभिन्न तहका सरकारहरुबाट भएका प्रयासहरुका साथसाथै समुदाय र नागरिकहरु वीचको आपसी सहयोग र एकताले मात्र यस महामारीबाट हामी मुक्त हुन सक्दछौ । यसका लागि प्रदेशवासीहरु लगायत समस्त नेपालीहरुलाई एकताबद्ध भई यस कार्यमा लागि पर्न म हार्दिक आग्रह गर्दछु ।
अन्त्यमा, यस गणतन्त्र दिवस, २०७७ ले हाम्रा साझा लक्ष्यहरुको प्राप्तिका लागि हामी सबैलाई एकताबद्ध बनाउन थप प्रेरित गर्ने विश्वासका साथ सबैमा पुनः शुभकामना व्यक्त गर्दछु ।
२०७७ साल जेठ १५, बुटवल ।
(धर्मनाथ यादव)
प्रदेश प्रमुख