शुभकामना


यस वर्ष वि.सं २०७७ सालको दशैं हाम्रो घर आँगनमा आइपुगेको छ । नेपालीहरुको महान चाड विजया दशमीको यस सुखद अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

मानव सभ्यताको आदिकाल देखि नै विभिन्न समुदायहरुले सामूहिक रुपमा अवलम्वन  गर्दै आएका विविध संस्कृतिहरुले नै ती समुदायका सदस्यहरुबीच अपनत्व र सद्‍भावको भावनामा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् । नेपालका विभिन्न समुदायहरु साँस्कृतिक विविधताले समेत भरिपूर्ण रहेका छन् । सबै समुदायहरुले आ-आफ्ना संस्कृतिहरुमा अत्यन्त गौरव गर्ने गर्दछन् भनें तिनको निरन्तर अवलम्वन, अभ्यास र संरक्षणप्रति पनि उत्तिकै सचेत रहेका छन् ।

असत्य माथि सत्यको विजयको प्रतिकको रुपमा नेपाली समाजले मनाउँदै आएको विजया दशमी पर्व पनि एक मौलिक चिनारीको रुपमा रहेको छ । शक्तिको प्रतिकको रुपमा देवी भवानीको पूजा गर्ने, आ-आफ्ना  मान्यजनहरुवाट टीका र आशिर्वाद ग्रहण गर्ने, आपसमा शुभकामना आदान प्रदान गर्ने तथा परिवारका सबै सदस्य तथा आफन्तजनहरु भेटघाट गरी हर्षोल्लासका साथ दशैं पर्व मनाउने प्रचलन रही आएको छ ।

गत सन् २०१९ को अन्त्यतिरको समयदेखि विश्वमा देखिएको COVID-19 को महामारीबाट आम जनसमुदायमा स्वास्थ्य र जीवनको रक्षा गर्ने चुनौती थपिएको छ । यसबाट सर्वसाधारण जनताहरुको नियमित दैनिकी र जिवीकोपार्जनका लागि आवश्यक पेशा, व्यवसाय लगायतका क्रियाकलापहरु संचालन गर्नमा कठिनाई उत्पन्न भएको छ । जसका कारण नागरिकको आर्थिक र सामाजिक जनजीवनमा नै प्रतिकुल प्रभाव पर्न गएको छ । यस चुनौतीको सामना गर्न सबै तहका सरकारहरुबाट आपसी समन्वय र समुदायसंगको सहकार्य हुन जरुरी छ ।

यस्तो प्रतिकुल अवस्थाका बीच हामीले यस वर्षको दशैं पर्व मनाउन लागिरहेको सन्दर्भमा म समस्त दाजुभाई तथा दिदिबहिनीहरुमा आफ्नो र आफ्ना प्रियजनहरु समेतको जीवन रक्षाको लागि चाडवाडको समयमा समेत सरकारद्वारा जारी गरिएका स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पूर्ण रुपले पालना गर्ने कुरालाई प्राथमिकताका साथ अवलम्वन गरेर मात्र चाडवाड मनाउने क्रियाकलापहरुमा संलग्न हुन आव्हान गर्दछु ।

अन्त्यमा, विजया दशमी २०७७ को यस पावन अवसरले प्रदेशवासीहरु लगायत समस्त नेपालीहरुमा सुस्वास्थ्य, सुख र शान्तिका साथै आपसी  एकता, सद्‌भाव र समृद्धितर्फ सबैलाई थप प्रेरित गर्नेछ भन्ने विश्वासका साथ सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

२०७७ कार्तिक, वुटवल ।

(धर्मनाथ यादव)
प्रदेश प्रमुख