शुभकामना


नेपाली समुदायहरुले शदियौंदेखि मनाउँदै आएका विभिन्न चाडवाडहरुमध्ये सधै झैं यसवर्ष पनि शुभ दिपावली तथा छठ पर्व हाम्रो घर आँगनमा आइपुगेको छ । यमपञ्चकको पूजाका साथ दाजुभाइहरुले दिदीबहिनीहरुको हातबाट टीका ग्रहण गर्ने तथा आपसमा शुभकामना आदानप्रदान गरी मनाइने चाड तिहार तथा परिवारका सदस्यहरुको सुखशान्तिको कामना गर्दै सूर्यको उपासना गर्ने, नजिकको नदी तलाउहरुमा विशेष पूजा तथा जल अर्पण गरी प्रसाद ग्रहण गर्नुका साथै आपसमा शुभकामना आदानप्रदानका साथ  मनाइने छठ पर्वको यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

विभिन्न समुदायहरुले सामूहिक रुपमा अवलम्वन  गर्दै आएका विविध संस्कृतिहरुले नै समुदायका सदस्यहरु बीच अपनत्व र सामूहिक भावनाको अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् । विभिन्न साँस्कृतिक र भाषिक विविधता रहेको हाम्रो जस्तो देशमा यस्ता मौलिक साँस्कृतिक पर्वहरुले विविधताहरुका बीच रहेको साँस्कृतिक एकता र मेलमिलाप, भातृत्व, सामाजिक   सद्भाव र सहिष्णुता अझ सुदृढ हुने कुरामा म विश्वस्त छु ।

कोरोना भाइरस (COVID-19 ) को महामारीबाट विश्व नै आक्रान्त भैरहेको अहिलेको समयमा हामी पनि यस महामारीबाट जीवन रक्षाका लागि निरन्तर रुपमा लडिरहेका छौं । यस्तो समयमा हामीले अति नै सावधानीका साथ आ-आफ्ना चाडवाडहरु मनाउनुपर्ने अहिलेको आवश्यकता भएको छ । यस वास्तविकतालाई विशेष रुपले ध्यान दिन म सबैलाई आग्रह गर्दछु ।

अन्त्यमा, वि.सं.२०७७ सालको शुभ दिपावली तथा छठ पर्वको यस पावन अवसरले सम्पूर्ण प्रदेशवासीहरु लगायत समस्त नेपालीहरुमा सुस्वास्थ्य, सुख र शान्तिका साथै आपसी एकता, सद्‌भाव र समृद्धितर्फ थप प्रेरित गर्नेछ भन्ने विश्वासका साथ सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

२०७७ कार्तिक, वुटवल ।

(धर्मनाथ यादव)
प्रदेश प्रमुख