जननिर्वाचित ऐतिहासिक संविधान सभाबाट नेपालको संविधान जारी भएपछि संविधान वमोजिम नेपालको ईतिहासमा पहिलोपटक संघीय संरचनाका लागि निर्वाचन सम्पन्न गरेर लुम्बिनी प्रदेशमा प्रदेश सरकारको स्थापना भएको आज तीन वर्ष पूरा भएको छ । प्रदेश स्थापना दिवसको यस अवसरमा म सम्पूर्ण प्रदेशवासी दिदीवहिनी तथा दाजुभाईहरुलाई बधाई दिन चाहान्छु । साथै यस घडीमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यस अवसरमा जनतालाई सार्वभौमसत्तासम्पन्न बनाउन र जनभावना अनुकूल संघीय शासन व्यवस्था स्थापना गर्न विभिन्न समयमा भएका संघर्षहरुका दौरानमा आफ्नो जीवन बलिदान गर्ने सबै अमर शहीदहरुको म श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । यस घडिमा वहाँहरुप्रति आदर र सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
हाम्रो संविधानले संघीय संरचना बीच अधिकार र जिम्मेवारी, स्रोत, साधन र प्रशासनको साझेदारी गर्दै सुमधुर सहयोगात्मक सम्बन्धको विकास र विस्तार गर्न मार्ग निर्देश गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारको सार्थक प्रयत्नबाट मात्र द्रुत गतिको विकास सम्भव हुन्छ र संघीय व्यवस्था पनि थप मजबुत बन्दै जान्छ । यसैबाट हामी ‘समृद्ध प्रदेश, खुशी जनता’ को हाम्रो साझा लक्ष्य प्राप्तिमा सफल हुन सक्ने हुँदा आजको दिनले हामी सबैलाई यसतर्फ थप प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।
अन्त्यमा, यस ऐतिहासिक दिनले प्रदेशका सबै नागरिकहरुको उत्साहपूर्ण सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा प्रदेशको दिगो शान्ति र समृद्धिको लागि एकजुट हुन थप प्रेरित गर्न सकोस् । प्रादेशिक संरचनाहरु जनअपेक्षा अनुरूप सफलता प्राप्त गरी प्रदेशका सार्वभौम नागरिकहरूको आस्था र भरोसाका केन्द्र बन्न सकून भन्ने कामना गर्दै सबैमा पुन: शुभकामना व्यक्त गर्दछु ।
२०७७ फागुन ३ गते सोमवार ।
धर्मनाथ यादव
प्रदेश प्रमुख