आज वैशाख शुक्ल पूर्णिमाको दिन हो । आज २५६५ औं वुद्ध जयन्ती गौतम वुद्धका जीवन उपयोगी सन्देशहरुको स्मरण गरी मनाईंदै छ । यस अवसरमा म देश तथा विदेशमा रहनुभएका सम्पूर्ण वौद्ध धर्मावलम्वी एवं बुद्ध दर्शनका अनुयायी दाजुभाई तथा दिदीवहीनीहरुमा सुख, शान्ति समृद्धि एवं सुस्वास्थ्य र एकताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
आजभन्दा २५६५ वर्ष अघि लुम्विनीमा आजकै दिन राजा शुद्धोदन र रानी मायादेवीको कोखबाट सिद्धार्थ गौतमको जन्म भएको थियो । मानव जीवनको हितका लागि बुद्धले विभिन्न उपदेशहरु दिनुभएको छ । यी उपदेशहरुले सत्चरित्रका साथ जीवन सार्थक बनाउन हामीलाई सधै मार्गदर्शन गरिरहेका छन् । यिनै उपदेशहरुले अहिंसाको मार्ग अवलम्वन गर्दै विश्वमा शान्तिको सन्देश फैलाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
विगत एक वर्षभन्दा बढी समयदेखि नेपालमा COVID-19 भाईरस महामारीको रुपमा फैलिएर ठूलो जनधनको क्षति भैसकेको छ। आजका दिनसम्म आईपुग्दा नेपालमा पनि यसको दोस्रो लहरले निकै ठूलो जनधनको क्षति पुर्याईसकेको छ र यसको अन्त्य कसरी हुनें हो र कहिले हुनें हो ? अझैपनि भन्न सकिने अवस्था छैन । यतिबेला आफू र अरुको जीवन रक्षा नै हामी सबैको प्राथमिकता हुन पुगेको छ । गौतम वुद्धले देखाउनुभएका सत्मार्गहरुको अवलम्वनबाट नै हामी अहिलेको यस जटील अवस्थाबाट समेत छिट्टै मुक्त हुन सफल हुनेछौं भन्ने विश्वास लिएको छु ।
अन्त्यमा, यस २५६५ औं वुद्ध जयन्तीले हामी सवैलाई शान्ति र अहिंसाका साथै मानव समुदायकै साझा समस्याको रुपमा रहेको यो महामारीबाट शीघ्र मुक्तिका लागि हाम्रा प्रयासहरुलाइ अझ एकताबद्ध र प्रभावकारी बनाउन सबैलाइ प्रेरित गर्ने विश्वासका साथ सम्बद्ध सबैमा पुन: हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२०७८ जेठ १२
वुटवल ।
(धर्मनाथ यादव)
प्रदेश प्रमुख