आज जेठ १५ गतेको दिन, नेपाली जनताको धेरै लामो समयपछि पूरा भएको आकाक्षा अनुरुप देशले गणतन्त्रात्मक शासन व्यवस्थाको अवलम्वन गरेको दिन हो । नेपाली जनताबाट निर्वाचित प्रतिनिधिहरुको संविधान सभाले पहिलो वैठकबाट वि.सं २०६५ सालमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको दिनको सम्झना स्वरुप हामीले हरेक वर्ष जेठ १५ गतेको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउँदै आएका छौं ।यस अवसरमा म गणतन्त्र स्थापनाको लागि विभिन्न समयमा भएका वलिदानीपूर्ण संघर्षहरुमा शहादत प्राप्त गर्नुभएका सम्पूर्ण ज्ञात र अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । गणतन्त्र दिवसको यस अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
गणतन्त्र घोषणा पश्चात त्यसलाई संस्थागत गर्न संविधान वमोजिमका धेरै कामहरु हामीले गरिसकेका भएपनि समयक्रममा केही व्यवधानहरुको पनि हामीले सामना गर्नु परिरहेको छ । यी व्यवधानहरु हाम्रा साझा प्रयत्नहरुबाट नै हटाउन र अघि बढ्न सकिन्छ भन्ने मेरो विश्वास छ ।आजको दिवसले हामी सबैलाई यसतर्फ थप प्रेरित गर्ने विश्वास लिएको छु ।
विगत एक वर्षभन्दा बढी समयदेखि धेरै देशहरुमा COVID-19 भाईरस महामारीको रुपमा फैलिएर ठूलो जनधनको क्षति भैसकेको छ । आजका दिनसम्म आईपुग्दा नेपालमा पनि यसको दोस्रो लहरले निकै ठूलो जनधनको क्षति पुर्याईसकेको छ र यसको अन्त्य कसरी हुनें हो र कहिले हुनें हो ? अझैपनि भन्न सकिने अवस्था छैन । भय र अनिश्चितताको अवस्था कायमै छ । यतिबेला आफू र अरुको जीवन रक्षा नै हामी सबैको प्राथमिकता हुन पुगेको छ । यस महामारीबाट सुरक्षित रही क्षति कम गर्नेतर्फ आ-आफ्नो ठाउँबाट योगदान पुर्याउन म सबैलाई आव्हान गर्दछु ।
अन्त्यमा, यस गणतन्त्र दिवस, २०७८ ले हाम्रा साझा लक्ष्यहरुको प्राप्तिका लागि हामी सबैलाई एकताबद्ध बनाउन थप प्रेरित गर्ने विश्वासका साथ सबैमा पुन: शुभकामना व्यक्त गर्दछु ।
२०७८ जेठ १५
वुटवल ।
(धर्मनाथ यादव)
प्रदेश प्रमुख